दफा १००
सक्कल लिखत फिर्ता दिनु पर्ने
(१) दफा ९९ को उपदफा (२) बमोजिम कुनै लिखत अदालतमा पेश भएकोमा अदालतले आफ्नो कर्मचारीलाई सोही दफाको उपदफा (४) बमोजिम पेश भएको नक्कल प्रति सक्कल लिखत बमोजिमको भए वा नभएको रुजु गर्न लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम रुजु गर्ने कर्मचारीले रुजु गरी सकेपछि त्यस्तो नक्कलको प्रत्येक पानामा सक्कल बमोजिम नक्कल दुरुस्त छ भनी लेखी मिति खुलेको दस्तखत गरी त्यस्तो लिखत पेश गर्ने पक्षको समेत सहीछाप गराई अदालतको छाप लगाई प्रमाणित गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रमाणित भएपछि त्यस्तो कर्मचारीले त्यस्तो सक्कल लिखतको पीठमा अदालतको छाप लगाई मिति खुलेको दस्तखत गरी त्यस्तो लिखत पेश गर्ने पक्षलाई फिर्ता दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम फिर्ता दिएको सक्कल लिखत अदालतले चाहेमा आवश्यकता अनुसार पुन पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिन सक्नेछ ।